Section 5
नेपाल सरकारको पूर्व स्वीकृति लिई मुख्य पुरातत्व अधिकृतले प्राचीन स्मारकका धनीहरूको जिम्मेवारीको कागज गराउन पाउने :

(१) सदर मोफसलका कुनै जिल्लामा भएको संरक्षित प्राचीन स्मारकको स्थायी बचाउको निमित्त नेपाल सरकारको पूर्व स्वीकृति लिई मुख्य पुरातत्व अधिकृतले वा निजले खटाएको व्यक्तिले सो प्राचीन स्मारकका धनीहरूसँग जिम्मेवारीको कागज गराउन सक्तछ । त्यस्तोमा प्राचीन स्मारकका धनीले सो कागज गरी नदिएमा प्रमुख जिल्ला अधिकारीलाई सो प्राचीन स्मारकको सुरक्षा गरी गराई त्यसका धनी र सम्बन्धित नगरपालिकाको प्रमुख, उपप्रमुख वा सदस्य वा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष वा सदस्यबाट समेत उपदफा (२) मा लेखिए बमोजिमको जिम्मेवारीको कागज गराई पठाई दिनु भनी लेखी पठाउनु पर्छ र त्यस्तो लेखी आएमा प्रमुख जिल्ला अधिकारीले पनि सो बमोजिम गर्नु गराउनु पर्छ ।

(२) उपदफा (१) मा लेखिए बमोजिमको जिम्मेवारीमा देहायका कुराहरू र उचित देखिएका अरू कुराहरू समेत पार्नुपर्छ :
(क) स्मारकको हेरचाह ।
(ख) स्मारकको जिम्मा र त्यसको पालो पहरा गर्ने व्यक्तिको कर्तव्य ।
ग) स्मारकका धनीले त्यसलाई भत्काउने, हटाउने, परिवर्तन गर्ने विरूप गर्ने नेपालसरकार बाहेक अरूलाई हस्तान्तरण गर्ने वा स्मारकको नजिकमा अरू कुनै स्मारक खडा गर्ने कुरामा बन्देज ।
(घ) जनता वा नेपाल सरकारलाई वा मालधनीले खटाएका व्यक्तिलाई स्मारकको संरक्षण वा निरीक्षण गर्नका निमित्त जाने आउने सुविधा ।
(ङ) स्मारक रहेको जग्गा जमिन बेच्न परेमा पञ्चकीर्ति मोलमा नेपाल सरकारलाई दिनुपर्ने ।
(च) कबुलियतबाट उठेको झगडा हेर्नको निमित्त नेपाल सरकारबाट अधिकारी नियुक्त हुने ।